६ माघ २०८०, शनिबार

ताजा खबर

कुवेत पुगेका २८ नेपाली कामदार अलपत्र, सडकमै बास

   १२ श्रावण २०७६, आईतवार ०८:४२ प्रकाशित

काठमाडौं । म्यानपावर व्यवसायीको चरम लापरबाहीका कारण कुवेतमा २८ जना नेपाली अलपत्र परेका छन् । काठमाडौंको सिनामंगलमा रहेको सारोन म्यानपावर सिर्भिसेसबाट कुवेत पुगेका २८ नेपालीको बास अहिले सडकमा छ ।
उनीहरु सारोनमार्फत अप्रिल १०, ११ र १५ मा कुवेतमा रहेको Enasco General Trading and Contracting Company LLC नामक एक कम्पनीमा कामका लागि गएका थिए ।
अलपत्र परेका नेपाली कामदारको भिसाको म्याद समेत सकिएको छ । म्यानपावर कम्पनीलाई पटकपटक नेपाल फर्काउन आग्रह गर्दा आलटाल गरिरहेको कामदारको गुनासो छ । तर म्यानपावर कम्पनीले आफूले अलपत्र कामदार फिर्ता ल्याउनका लागि पहल गरिरहेको दाबी गरेको छ ।
म्यानपावर कम्पनीले उनीहरुबाट प्रतिव्यक्ति १ लाख ८० हजार रुपैयाँ लिएको थियो । तर कुवेत पुगेको ४ महिनासम्म पनि काम, दाम र माम नपाएको उनीहरुको गुनासो छ । बहबुल्लाहको ड्राइभर क्याम्पको बाहिर पट्टी बसेको उनीहरुले बताएका छन् ।
अलपत्र पर्ने अधिकांश कामदारहरु रुपन्देही र आसपासका क्षेत्रका रहेका छन् । सम्बन्धित कम्पनीले आफ्नो क्याम्पबाट निकालेपछि अहिले नेपाली कामदार अर्को क्याम्पको बाहिर पट्टी बसिरहेका छन् । ५० डिग्रीभन्दा माथि तापक्रममा आफूहरु सडकमा नै बस्न बाध्य भएको कामदारको गुनासो छ । नेपाली दूतावासले समेत आफ्नो समस्याको बारेमा कुनै सुनुवाई नगरेको कामदारहरुको गुनासो रहेको छ ।
अलपत्र पर्ने नेपाली कामदारको नामावली निम्नअनुसार रहेको छ ।

ठानेश्वर घिमिरे, रुद्रबहादुर थापामगर, यमबहादुर गन्धर्व, टिका नेपाली, सोमबहादुर राउत, लक्ष्मण चौधरी, बाबुराम घिमिरे, विनोद थापा क्षेत्री, रिखिराम अर्याल, निशान थापामगर, कुशल गुरुङ, आकाशबहादुर क्षेत्री, श्रीधर न्यौपाने, आविशबहादुर दमाई, राकेश खत्री, प्रदीप चौधरी, अमर परियार, किसन राई, अजयकुमार चौधरी, अजय कुमाल, दीपक कुमाल, जीवन तामाङ्ग, रञ्जितकुमार पूर्वे , हिरालाल मण्डल, अजयकुमार मण्डल, मोजम हुसेन, जुल्फकार अली, सागर डुम्रे

124 Views
%d bloggers like this: