७ माघ २०८०, आईतवार

ताजा खबर

नेपालमा पहिलो रेल बर्दियामा चल्यो

   २६ श्रावण २०७६, आईतवार २१:१० प्रकाशित

दिनेश प्रसाद श्रेष्ठ
बर्दिया । नेपालमा सबैभन्दा पहिले रेल लाइन बिच्छाइएको र चलेको भनेको नै बर्दिया जिल्लामा हो । यो रेल १०८ बर्ष अघि सन् १९१० (बि.सं.१९६७) देखि शुरु भएर सन् १९२० (बि.सं. १९७७ ) सम्म १० बर्ष मात्र संचालनमा थियो। तर यो रेल यात्रुहरुको आवागमनको लागि नभएर गेरुवानदी पूर्व र बबई नदी पश्चिमपट्टिको जङ्गलका काठ कटान र मुछान गरि भारततिर ढुवानी गर्ने प्रयोजनका लागि मात्र थियो । यसका लागि श्री३ प्रधानमन्त्री चन्द्र शमशेर जबराको स्वीकृतिबाट ईष्ट इण्डिया कम्पनी सरकारको फरेष्ट्री डिपार्टमेन्टका कन्जरभेटर जे.भी. कोलिएर आफैले ठेक्का लिएका थिए । उनले यस्तो ठेक्का कैलाली र नेपालको पूर्वी तराईमा पनि लिएका थिए । कैलालीमा दुल्लु दर्रा डाडा सरकारको ठेक्का राज्य मलवाराभित्र पर्ने भारतीय सीमावर्ती टिकुनिया र बेलरायादेखि उत्तर भगिनी सुखडसम्म जङ्गल कटान, मुछान र भारततर्फ काठ ढुवानी गर्न बर्दियामा रेल लगेको एक बर्षपछि रेल लाइन बिछ्याएका थिए ।
बर्दियामा यो रेल नेपाल, भारत सीमाको निसानगाडा (भारतपट्टि) देखि पश्चिम नजिकैको टेघरा चौकीबाट ढोढरीको मधुवन, माचड, गमक्का, बसन्ता र बन्द्राज गाउँ, बगनाहको शाहीपुर र तकिया पश्चिम पट्टिको जङ्गल क्षेत्र नेउलापुरको नेउलापुर, सतघरुवा, रानीपुर र कर्मला तथा शिवपुरको पुरानो अम्बासा गाउँको पूर्वबाट हुँदै ऐलेको राजमार्गको उत्तर खयरभट्टीसम्म बिच्छाइएको रेल लाइनमा चल्थ्यो । टेघराचौकी देखि खयरभट्टीसम्म करिव ३५ किलोमिटर दुरीसम्म यो रेल चल्थ्यो ।
बर्दियामा रेल चलेको ३, ४ बर्षपछि मात्रै नेपालको रक्सौल (सिर्सैया) देखि अमलेखगञ्ज (भिक्षाखोरी)सम्म ४७ किलोमिटरको दूरीसम्म ३१ जनवरी १९२७ (५ फागुन १९८३) मा राजा त्रिभुवनबाट उद्घाटन भएर सार्वजनिक रेल सेवा चलेको थियो । यसपछि जयनगर, जनकपुर ३२ किलोमिटर र जनकपुर, बिजुलपुरा २१ किलोमिटर रेल्वे यातायात विस्तारित भएको थियो । यसलाई अझ पछि बर्दिवास सम्म विस्तार गरियो ।
त्यतिबेला, संसारमै रेल चलेको (ईङलैण्डको स्टाँवटन र डार्लिङटनबीच सन् १८२५ मा) ८५ बर्षपछि र भारतमा रेल चलेको (महाराष्ट्रको बम्बई र ठाणेबीच १६ अप्रिल १८५३ मा) ५७ बर्षपछि नेपालको बर्दिया जिल्लामा रेल चलेको थियो ।
यो रेल चढेका २, ४ जना स्थानीय बृध्दहरुसंग मैले भेट र कुराकानी पनि गर्ने अवसर पाएको थिए । तर अब वहाँहरु दिवंगत भई सक्नु भएको छ । साथै टेघराचौकी देखि खएर भट्टिसम्मको पुरानो फलामे रेल लाइन झिकी सकिएको वा हिनामिना भई सकेको भए पनि टेघराचौकी देखि खयर भट्टिसम्मै “कोलिएर लाइन“ भनिने रेल्वे लिकको ट्रयाक र रेल्वे ट्रयाक बीच बीचको सालको काठको भत्केका र नभत्केका त्यतिबेला बनेका पुलहरु हामीले पनि देख्यौं र त्यो ट्रयाकमा हामीले साईकल पनि दौडाएका छौं । तर अब यो निशान अधिकांश ठाउँहरुमा नामेट भइसकेको छ । तापनि कत‌‌ैकतै जङ्गलभित्र यो निशान अझै छ ।
दिनेश प्रसाद श्रेष्ठको फेसवुक वालबाट साभार गरिएको । खोजी र अनुसन्धानमा दक्षता राख्ने श्रेष्ठ नेपाल पत्रकार महासंघ बर्दियाका साधारण सदस्य समेत हुनुहुन्छ ।

672 Views
%d bloggers like this: