यादव आचार्य, बर्दिया ।
जैविकविविधतामा पारिस्थितिक प्रणालीको सूचक मानिने बाघका प्रजाती पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेका छन् । वासस्थान विनास, आहाराको कमी र बढ्दो चोरी शिकारका कारण बाघका उपप्रजाती लोपहुने अवस्थामा पुगेका हुन् ।
विश्वमा पाईने बाघका ९ उपप्रजाती मध्ये ३ प्रजाती लोप भैसकेका छन् । पछिल्लो समय अर्को प्रजाती समेत प्राकृतिक वासस्थानबाट हराईसकेपछि चिडियाखानामा राखेर वैज्ञानिकहरुले प्रजनन् कार्य शुरु गरेका छन् । अन्य ५ वटा उपप्रजातीहरु विश्वबाटै लोपोन्मुख अवस्थामा छन् । नेपालमा बाघ लगायत यसको बासस्थान अनुगमन तथा निकुञ्जका घाँसेमैदानहरुको अध्ययन गर्दै आईरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत रविन कडरीयाका अनुसार सन् १९४० को दशकमा बाली, १९७० को दशकमा क्यास्पिएन र १९८० को दशकमा जाभान उपप्रजातीका बाघ संसारबाटै लोप भैसकेका छन् ।
उनले भने साउथ चाइना बाघ प्राकृतिक वासस्थानबाट लोपहुने अवस्थामा पुगेपछि चिनका चिडियाखानाहरुमा राखेर प्रजनन् कार्य गर्न थालिएको छ । यसको संख्या ६५ वटा छन् । दक्षिण पश्चिम चीन, थाईल्याण्ड, लाओस्, भियतनाम, कम्बोडियामा पाईने इन्डोचाईनिज बाघको अवस्था पनि नाजुक रहेको उनले बताए । इण्डोचाईनिज बाघको संख्या २ सय ३ वटा मात्र छन् ।
कडरीयाले थपे मलेसियाको दक्षिण र केन्द्रिय प्रायद्विपमा मात्र पाईने मलायन बाघ २ सय ५० को हाराहारीमा छ । रसियाको पूर्वी भुभाग चीनको उत्तरकोरियासँग जोडीएको सिमावर्ती क्षेत्रमा सिमित रहेका साइबेरियन बाघ ४ सय ३३ वटा छन् । इण्डोनेसियाको सुमात्रा टापुमा मात्र पाईने सुमात्रान बाघ ३ सय ७१ वटा रहेको अनुमान छ ।
अधिकृत कडरीयाले भने सन् २०१६ को विश्व बाघ तथ्यांक हेर्दा नेपाल (१९८), भारत (२२२६), रसिया (४३३), इण्डोनेशिया (३७१), मलेशिया (२५०), थाईल्याण्ड (१८९), बंगलादेश (१०६), भुटान (१०३), चीन (७), भियतनाम (५) लगायत लाओस (२) गरी ३ हजार ८ सय ९० वटा बाघ प्राकृतिक वासस्थानमा छन् । नेपालमा पछिल्लो तथ्यांक अनुसार ३७ बटा पाटेबाघ बृद्धि भएको उनले प्रष्ट्याए । २० औं शताब्दीको शुरुमा संसारमा बाघको संख्या १ लाखको हाराहारीमा थियो ।
बैज्ञानिक अध्ययन अनुसार हाल आएर बाघको संख्यामा ९६ प्रतिशत र बाघको बासस्थानमा ९३ प्रतिशतले कमी आएको एनटीएनसी बर्दिया संरक्षण कार्यक्रमका अधिकृत एवम् घाँसेमैदान अध्यता श्याम थापाले बताए । उनले भने अस्तित्वमा रहेका ६ उपप्रजातीका बाघहरु नेपाल, भुटान, म्यान्मार, भियतनाम, मलेसिया, चीन, इण्डोनेसिया, रसिया, बंगलादेश, भारत, थाईल्याण्ड, लाओस लगायत कम्बोडिया गरी १३ वटा देशमा पाईन्छन् । पाटेबाघ नेपाल, भारत, भुटान र बंगलादेशका संरक्षित क्षेत्रहरुमा मात्र पाईन्छन् ।
दीगो बाघ संरक्षणका लागि चोरीशिकार नियन्त्रण, आहारा बृद्धि लगायत घाँसेमैदान र बाघको बासस्थान बढाउनु जरुरी रहेको थापाले बताए । बर्दियामा बाघको संख्या बृद्धि भएपनि आहारा बढाउनु अति जरुरी रहेको उनको भनाई छ । देशैभरीका घाँसेमैदानको क्षेत्रफल खस्कदो अवस्थामा रहेको छ । उनले थपे घाँसेमैदानमा बुट्यान, मिचाहा प्रजातीको नै बर्चस्व रहेकाले बाघको आहारा मृगहरुको लागि मनपर्ने घाँसहरु हराउन थालेको पाईन्छ । एनटीएनसीले बाघ लगायत यसका आहारा प्रजातीको अध्ययन लगायत नियमित अनुगमन गर्दै आएको उनले प्रष्ट्याए ।
बाघ पाईने देशहरुले रुसको सेन्टपिटर्सवर्गमा सन् २०१० मा भएको सम्मेलनमा सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता गरेका छन् । नेपालका तर्फबाट प्रतिबद्धता गरे अनुरुप सरकारले पनि बाघ संरक्षणमा चाँसो दिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले नेपालमा पछिल्लो तथ्यांक अनुसार चितवन (९३), बर्दिया (८७), बाँके (२१) पर्सा (१८) र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा (१६) गरी २ सय ३५ वटा पाटेबाघ रहेको बताए । उनका अनुसार बासस्थान, आहारा प्रजातीको घनत्व, चोरी शिकार बाघ संरक्षणको प्रमुख चुनौतीको रुपमा रहेको छ ।
बाघको संख्या बढेसँगै आहारा अभावमा जंगलबाट बाहिरिने क्रमले मानव—बन्यजन्तु बिचको सहअस्तित्व खल्बलिन सक्छ । ‘बर्दियामा सडक किनारामा विभिन्न औषधीहरु बेच्न आउने भारतीय बञ्जाराहरुको थ्रेटमा पाटेबाघ छ, उनले भने । स्वस्थ जंगलको सूचक मानिने लोपोन्मुख बाघको प्रजातीय विविधताको समेत दीगो संरक्षण गर्नु जरुरी रहेको उनले बताए । बाघ भएका जंगलहरु जैविकविविधताले भरिपूर्ण मानिन्छन् ।