कर्णाली प्रदेश सभाको प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका छन्। प्रतिपक्षी दलको नेताको हैसियतले सरकारबाट पाएको गाडी उनले फिर्ता गरेका हुन्।
बिहीबार उनले प्रयोग गर्दै आएको स्कोर्पियो गाडीको साँचो संसद सचिवालयलाई बुझाइएको उनका स्वकीय सचिव राजबहादुर रोकायाले जानकारी दिए। उनले बिहीबारको प्रदेश सभा बैठकमा ‘गरिब प्रदेश भन्ने, तर महँगा गाडी चढ्नु उपयुक्त नभएको’ बताएका थिए।
प्रतिपक्षी दलका नेता शाहीले ऐनअन्तर्गत नै रही कर्णाली प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा विपक्षी दलका नेताले गाडी सुविधा पाउने उल्लेख छ। यस्तै, १५० लिटर इन्धन पनि पाउने व्यवस्था ऐनमा छ।
विभिन्न संसदीय समितिलाई पनि दिइएको गाडी सुविधाबारे बोल्दै उनले यो अवस्था कर्णाली प्रदेशको नभएको बताए। उनले सुविधा दिनैपर्ने भए मोटरसाइकलसम्म दिनुपर्ने बताए।