कन्ट्याक्ट ट्रेसिङमा परेका बर्दियाका १६ पत्रकार मध्ये १५ को रिपोर्ट नेगेटिभ आएको छ भने १ जनाको पोजेटिभ आएको छ । स्वाब परीक्षण गरिएका मध्ये बर्दियाका १५ जना पत्रकारको रिपोर्ट नेगेटिभ र १ जनाको पोजेटिभ आएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । गएको शनिबार बर्दियाको ठाकुरबाबा नगरपालिकामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारी गरी एकैदिन १० जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो । सँगै ती पत्रकारको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो । जसमा ५५ वर्षीय एक जनाको रिपोर्ट पोजेटिभ आएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका १६ जना पत्रकारसहित २४ जनाको बुधबार पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । उनीहरु मध्ये १ जना पत्रकार र अन्य १ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।
बर्दियाको गुलरिया–५ घर भएका ती पत्रकारमा कोरोना पोजेटिभ पाइएको हो । बर्दियाको गुलरियाकै अर्का क्वारेन्टाइनमा बसेका १ जना १९ वर्षीय पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ । यस्तै नेपालगन्जको भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाको बढैयाताल गाउँपालिका–१ का २५ वर्षीय पुरुषमा पनि आजै कोरोना संक्रमण पुष्टि भएको छ । बर्दियामा शुक्रबार ३ जनामा कोरोना संक्रमण पुष्टि भए संगै जिल्लामा जम्मा संक्रमितको संख्या २ सय २६ पुगेको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षण कृष्ण गोपाल चौधरीले जानकारी दिनुभयो ।