बर्दियामा मंगलबार ३ जना प्रहरी,३ जना जिल्ला प्रहरी कार्यालयमा विभिन्न अपराधका आरोपित थुनुवा ३ जना र स्वास्थ्यकर्मी ३ जनासहित ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय बर्दियाका अनुसार पछिल्लो २४ घण्टामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ्गमा गरिएको परिक्षणमा २३ जना र भेरी अस्पतालमा गरिएको परिक्षणमा १६ गरी ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ्गमा गरिएको परिक्षणमा पुष्टि भएका २३ जना मध्य २२ जना बाँसगढी र १ जना बढैयातालका भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । जसमध्य बाँसगढीका एकजना स्वास्थ्यकर्मीमा पनि संक्रमण भएको छ । बाँकी केही दिन अघि बाँसगढी स्थित चौधरी ग्रुपको चाउचाउ कम्पनीमा कार्यरत मजदुरहरुमा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा आएका घर परिवारका व्यक्तिहरु हुन ।
त्यस्तै भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएका मध्य बारबर्दियाका ६ जना र गुलरियाका ६ जना, बढैयातालका २ र गेरुवा र राजापुरका १/१ जना रहेका छन । जसमध्य बढैयातालका २ जना स्वास्थ्यकर्मी हुन । योसंगै जिल्लामा कुल संक्रमितको संख्या ५ सय ९५ पुगेको छ भने ४ सय ३२ जना कोरोना जितेर घर फर्किएका छन ।