स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवाको उद्घाटन गरेका छन्।
अस्पतालमा आयोजित कार्यक्रममा सेवाको उद्घाटन गर्दे मन्त्री पौडेलले वंशाणुगत रोगको समयमै उपचार गर्नका लागि यो सेवा महत्वपूर्ण रहेकाे बताए। ‘बाल मृत्युदर कम गर्न हामीले धेरै काम गर्न बाँकी छ,’ उनले भने। यो सेवा हेर्दा सानाे सानोजस्तो देखिए पनि यो महत्वपूर्ण प्रयास भएको उल्लेख गरे।
प्रसुति अस्पतालमा देशमै ख्याती कमाएको अस्पतालमा अरु सेवा पनि विस्तार गर्ने सोच मन्त्रालयको रहेको बताउँदै मन्त्री पौडेलले यो शुरुवात त्यसैको एक कडी भएको बताए।
अस्पतालले २० शैय्या आइसीयु थप्न लागेको भन्दै मन्त्री पौडेलले यसले अति आवश्यक मातृ शिशुका लागि धेरै राहत दिने विश्वास गरे। मन्त्री पौडेलले अस्पतालमा जनशक्ति पर्याप्त नभएको गुनासो सुनेको भन्दै आफू मन्त्रालय आउनासाथ त्यसको समाधानका लागि प्रयास थालेको र तत्कालका लागि छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई खटाउने घोषणा गरे।
अस्पताल निर्देशक डा श्रीप्रसाद अधिकारीले अकालमृत्यु बाट जोगाउने उद्देश्यले हाल परीक्षणका रुपमा सेवा थालेको भन्दै पाँच प्रकारका वंशाणुगत रोगको जन्मनासाथ परीक्षण र उपचार गरिने जानकारी दिए।