+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दियामा फरार प्रतिवादी पक्राउ, प्रहरीले अभियानलाई तीव्रता दियो

अजय चापागाईं
२०८१ माघ २९, मंगलवार

बर्दिया प्रहरीले विभिन्न अपराधमा संलग्न भई अदालतबाट फैसला भएर फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बर्दिया तथा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले फरार रहेका उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा गुलरिया–५ का कालुराम विश्वकर्मा, गुलरिया–९ का देशराज कुर्मी, राजापुर–३ का बाधु थारु र गुलरिया नगरपालिकाका जबरजस्तीकरणी मुद्दाका एक जना प्रतिवादी रहेका छन्।

कालुराम विश्वकर्मा बर्दिया जिल्ला अदालतबाट दुई वर्षको कैद सजाय पाइसकेका थिए भने देशराज कुर्मी अवैध काठ ओसारपसार मुद्दामा दोषी ठहर भई रु १ लाख ६ हजार ७०० जरिवाना तिर्नुपर्ने प्रतिवादी हुन्। त्यस्तै, बाधु थारु किर्ते तथा जालसाज मुद्दामा अदालतको फैसला भइसकेपछि फरार रहेका थिए। जबरजस्तीकरणी मुद्दामा अदालतबाट दोषी ठहर भएका एक जना प्रतिवादी २०८० साल असोज २१ गतेको फैसलापछि पाँच महिना २९ दिन कैद र रु ४० हजार जरिवाना तिर्नुपर्ने अवस्थामा फरार रहेको कुरा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिनुभयो ।

बर्दिया प्रहरीले उनीहरूलाई आफ्नै घरपरिवार तथा समुदायको बीचमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारेर पक्राउ गरेको हो। पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बर्दिया जिल्ला अदालतमा पेश गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले अपराध नियन्त्रण तथा कानुनी व्यवस्था कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीहरूलाई खोजी गरी पक्राउ गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ। पछिल्लो समयमा प्रहरीले कानुनी शासनलाई बलियो बनाउने उद्देश्यले अपराधीहरूलाई पक्राउ गर्न व्यापक रूपमा खोजी अभियान सञ्चालन गरिरहेको छ। यस अभियानलाई स्थानीय बासिन्दाले पनि समर्थन जनाएका छन्। बर्दिया प्रहरीले आगामी दिनमा पनि कानून उल्लंघन गर्ने जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याइने स्पष्ट पारेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अजय चापागाईं

ट्रेन्डिङ