६ माघ २०८०, शनिबार

ताजा खबर

कांग्रेसको १४औं महाधिवेशन फागुनमै, तल्ला तहका अधिवेशनको मिति फेरियो

   १५ असार २०७७, सोमबार १२:०७ प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पूर्वनिर्धारित १४औं महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी तल्ला तहका अधिवेशनको मिति परिमार्जन गरिएको छ ।

आइतबार बसेको कांग्रेस पदधिकारीसहित पूर्वपदाधिकारी बैठकले आगामी ७ देखि १० फागुनका लागि तय भएको केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने निर्णय गरेको हो ।

तर, केन्द्रबाहेक तल्ला तहका अधिवेशनका मिति भने बैठकले परिमार्जन गरेको छ । तल्ला तहका अधिवेशनका परिमार्जित मितिको ड्राफ्ट समेत पदाधिकारी बैठकले नै बनाइसकेको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्व निर्धारित मितिमै महाधिवेशन गर्ने गरी बैठकले निर्णय गरेको र तल्ला तहका अधिवेशनका मिति भने हेरफेर गरिएको बताए ।

‘केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा हुने गरी बाँकी तल्ला तहका अधिवेशनका मिति फेरबदल भयो । बैठकले सबै तहका अधिवेशनको ड्राफ्ट तयार गरेको छ,’ वरिष्ठ नेता पौडेलले भने ।

तर, तल्ला तहका अधिवेशन कुन तहको कहिले हुने भन्ने सार्वजनिक गरिएको छैन । पदाधिकारीले तयार गरेको तल्ला तहका अधिवेशनको ड्राफ्ट मंगलबारका लागि बोलाइएको केन्द्रीय समितिबाट पारित गरेपछि सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले भने तल्ला तहका अधिवेशनको परिमार्जित तालिका बनाउने जिम्मा केन्द्रीय कार्यालयलाई दिइएको बताए । ‘तल्ला तहका परिमार्जित कार्यतालिका अब केन्द्रीय कार्यालयले बनाउँछ र आगामी केन्द्रीय समितिमा सोबारे छलफल भएपछि थप निर्णय हुन्छ,’ महामन्त्री खड्काले भने ।

कांग्रेसले महाधिवेशनका लागि सार्वजनिक गरेका यस बीचका क्रियाशील सदस्यता वितरण, सदस्यताको नवीकरण र छानबिनको प्रक्रिया कोरोना संक्रमणका कारण प्रभावित भएको छ ।

कांग्रेसले गत ९ चैतबाट नै कोरोना संक्रमणका कारण क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन गरेको थियो भने आफ्ना नेता कार्यकर्तालाई संक्रमणविरुद्धको सचेतनामा परिचालित हुन निर्देशन दिएको थियो ।

यसअघि महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दा कांग्रेसले गाउँ र नगर वडा अधिवेशन आगामी ९ मंसिर, गाउँ र नगरपालिका अधिवेशन ११ मंसिर, प्रदेशसभा क्षेत्रीय अधिवेशन १५ मंसिर, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन १७ मंसिर, जिल्ला अधिवेशन २५ मंसिर, प्रदेश अधिवेशन १५ पुसका लागि तय गरेको थियो ।

कांग्रेस विधानअनुसार पार्टीका आठ तह छन् । कांग्रेसमा बुथ तह, ६ हजार ७ सय ४३ स्थानीय तहका वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म गरी आठ तहको नेतृत्व छनोट गर्नुपर्ने व्यवस्था छ ।

तीव्र विवादबीच कार्यतालिका तय गरेको कांग्रेसले नयाँ संविधानअनुसार पार्टीको संगठन समायोजन गर्न नसक्दा यसअघि नै तालिका संशोधन गरेको थियो । गत फागुनमै कांग्रेसले संगठन समायोजन सक्नुपर्ने थियो ।

संशोधित कार्यतालिकाअनुसार महाधिवेशनको प्रारम्भिक चरणको सदस्यता वितरण र नवीकरण सुरु गर्दै संगठन समायोजन काम सकेका ४० जिल्लामा नवीकरण र नयाँ वितरणका लागि पार्टी केन्द्रीय कार्यालयले सदस्यता रसिदसमेत पठाइसकेकोे छ । तर, कोरोनाका कारण त्यो प्रक्रिया अघि बढ्न सकेको छैन ।

३७ जिल्लामा अझै संगठन समायोजनको काम सकिएको छैन । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तोकिएका १ सय ६५ क्षेत्रमध्ये १ सय ३५ र प्रदेशका ३ सय ३० निर्वाचन क्षेत्रमध्ये २ सय ७० को मात्र समायोजन काम सकिएको छ ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार समायोजनको काम गत फागुनमै सक्नु पर्ने भए पनि समायोजन नसकिएका जिल्लालाई अझैसम्म सदस्यता वितरण र नवीकरणको फाराम नै पठाइएको छैन ।

२०–२३ फागुन २०७२ मा सम्पन्न १३ औं महाधिवेशनबाट चार वर्षका लागि सभापति निर्वाचित भएका देउवाले गत फागुनमा एक वर्षको कार्यकाल थप गरेर आगामी फागुनमा महाधिवेशन गर्ने कार्यतालिका ल्याएका थिए । राजधानी दैनिकबाट

102 Views
%d bloggers like this: