सलह किरा लगभग फटेङ्गा जस्तै हुन्छन तर यिनमा पाइने विशिष्ट अवस्थाहरु जस्तै भ्रमणशील प्रविति र शारिरिक बनावटको भिन्नताले यसलाई फटेङ्गा अथवा Grasshopper भन्न मिल्दैन सलह विभिन्न जातका भए पनि सवै भन्दा भयानक मानिने मरुभूमिको सलह अथवा Desert Locust हो। संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनको तथ्याङ्क अनुसार झुन्डमा भएको एक सलहले प्रतिदिन आफ्नो तौल बराबरको खाना खान्छ र यो एक वर्ग कि.मि.मा ४ देखी ८ करोडको संख्यामा हुन सक्छन र यो संख्या ले ३५ हजार मानिसलाई पुग्ने एक दिनको खाना नष्ट गर्न सक्छन भनेर UN को FAO घोषणा गरेको छ । यो किरा एक दिनमा १५० KM टाढा सम्म उडेर जाना सक्छ FAO ले यस किरालाई अङ्ग्रेजीमा Desert Locust वैज्ञानिक नाम Schistocerca gregaria दिएको छ । यी कीरा आफ्नो झुन्डको उडानको बेला बाटोमा आइ पर्ने सम्पूर्ण हरिया वनस्पतिलाइ उजाड पार्न सक्छन ।
अहिलेको विनाकारी सलहको उत्पत्ती
सन २०१८ सालमा साउदि अरब नजिकैको अरेबियन प्रायद्विप पेनिनसुला(Arabian peninsula) मा दुई ठूला आँधी साइक्लोनले भारि बर्षा गराए पछि यिनीहरु आफ्नो अत्याधिक प्रजनन गराएको पाइन्छ, जहाँ ९ महिनामा ३ पुस्ताको प्रजनन गरेर यिनीहरुले आफ्नो सङख्या ८०० गुणाले बढाएका थिए।
नजिकैको राष्ट्र यमन र ओमानले त्यतिबेला खाद्य सङ्कटमा जुधिरहेकाले उनिहरुले यस किरालाइ प्रोटिनको रुपमा प्रयोग गरे र यो किरा लाल सागर र गल्फ अफ इडेनलाइ पार गरि सन २०१९ मा अफ्रिका पुगेको मानिन्छ र यसको हरेक यात्रामा भारि वर्षा उपयुक्त वातावरणले बढदो प्रजनन ले गर्दा अफ्रिकाको इथोपिया, समालिया, यूगान्डा, र सन २०२० को पहिलो महिना केन्या पुग्यो र त्याहाँको उपयुक्त वातावरणले संख्या बृद्धि गरायो र २०२० को फेब्रुअरीमा ईरान हुदै पाकिस्तान प्रवेश भयो र त्यहाँ राष्ट्रव्यापी सङ्कटकालको घोषणा गरियो। यस पश्चात २०२० को मे महिनामा नै भारतको मध्य प्रदेश, राजस्थान, गुजरात लगायत राज्यहरूमा सलहले ५०,००० हेक्टरमा लगाएको बालीनाली सखाप पर्दै नेपालमा मिती २०७७ असार १३ गते पहिलो पटक प्रवेश गरयो ।
नेपालमा सलहको प्रवेश
नेपाल सरकारको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, ललितपुरको अनुसार नेपालमा सहल किरा भारत हुदै पाँच ठाँउबाट ७० देखी ८० लाखको संख्यामा प्रवेश गरेको अनुमान छ ।
नेपालमा सलह किरा असार १३ गते वारा, पर्सा, सर्लाही, र रुपन्देही बाट प्रवेश गरेको भने असार १४ गते कपिलवस्तु र पन: १५ रुपन्देहीबाट अर्को झुन्ड आएको हो।
अहिले नेपालमा उक्त झुन्डहरु तितरवितर भैइ विभिन्न जिल्लाहरु नोक्सान पुराइ रहेको अवस्था छ । र अहिले करीब १.५लाख किरा १ KM वर्ग क्षेत्रमा रहेको अनुमान छ ।
नेपालमा सलह किरा प्रकोपको इतिहास
- नेपालमा सलहको प्रकोप कुनै नौलो होइन किसानलाइ पहिला पनि दुख दिएको इतिहास छ ।
- २०३८ सालमा प्रकाशित पत्रिका “त्यस बखतको नेपाल” मा सरदार भीम बहादुर पाण्डेको लेख अनुसार सन १९८५-८६ अफ्रिकाको मरुभूमिबाट सलह को बथान आकाशै ढाकेर आउने गरेको उल्लेख छ ।
- साल २०५३ सालमा चितवनमा मात्र ८०% भन्दा बढि नोक्सान गरेको भने मकवानपुर, महोत्तरी,र बारामा सलहबाट थोरै नोक्सान भएको थियो ।
सलहलाई कसरी चिन्ने
- सलह झुन्डमा रहने प्रवृत्तिको फटयाङ्ग्राको प्रजाती हो ।
- सलह वयस्कको अवस्था मात्र उडने भएकोले यसका बच्चा (Nymph) नेपालमा आउन सक्दैन ।
- सलह आगन्तुक किरा भएको र अहिलेको मौसममा नेपालमा यसको वंशबृद्धि गर्ने सम्भावना अति न्यून छ ।
- सलहको अपरिपक्क वयस्क गुलाबी र परिपक्क हुदै जाँदा पँहेलो रङ्गका हुन्छन ।
- सलहका झुन्डहरुको हवाको वहाव सँगै दिनको समयमा निकै टाढा सम्म पुग्न सक्छन
- सामान्यतया सूर्यअस्त हुँदा सलहका झुन्ड रुख विरुवा लगायतका स्थानहरुमा आश्रय लिन्छन र विहान सूर्यदय पछी नजीका वोटविरुवाहरु खान्छन र पुन: उडेर अन्यत्र जान्छन ।
सलहले कसरी नोक्सानी गर्छ
सलहले बालीनाली घाँसहरु, झारपातहरुका पात लगायत सवै किसिका रुख विरुवाक पात,य मुना लगायत विरुवाका नरम बोक्रा समेत खाएर नष्ट गर्छन । एउटा किराले प्रतिदिन आफ्नो शरीरको तौल बराबर खाना खान्छ र यसले प्रत्यक्षरुपमा मानिस वा पशुपंक्षीलाइ क्षति गर्देन ।
सलह आएमा कसरी व्यवस्थापन गर्ने ।
- धेरै प्रोटीन यूक्त कीरा भएकोले आएका झुन्डलाई जालोको पासोमा संकलन गरि जम्म गरेर हाँस,कुखुराको आहारा बनाउन सकिन्छ ।
- यदि आफ्नो क्षेत्रमा कीराको झुन्ड बस्ने सम्भावना देखिएमा भाँडाकुडा, बाजागाजा, साइलेन्सर हटाएको मोटरसाइकल, लाउडिस्पिकर तथा धुवाँ लगायतका कुनै पनि माध्यमबाट बस्नमा बाधा पुराइ झुन्ड लाइ अन्यत्र मोडिदिने ।
- नर्सरी, करेसाबारी जस्ता साना क्षेत्रफललाइ झूल वा जालीले छोपेर जोगाउन सकिन्छ ।
- धानको व्याडलाइ त्रिपाल वा जालीले छोपेर केहि समय जोगाउन सकिन्छ ।
- खेतबारी वा सार्वजनिक स्थानमा आश्रय लीइरहेको पाइएमा तत्काल असर गर्ने विषादीको प्रयोग गर्ने । जस्तै मालाथियान ५०% EC ३ मि.ली. वा ल्याम्डा साइहेलोथ्रीन ५% EC ०.७ मि.ली.वा क्लोरोपाइरीफास २०% EC १.८८ मि.ली. वा डेल्टामेथ्रीन २.८% EC ०.७५ मि.ली. प्रति लीटर पानीका दरले साँझपख वा विहान स्प्रेयरबाट विषादी झरेर कीरा मार्ने ।
- विषादी प्रयोग गर्दा व्यक्तिगत सुरक्षका साथै मानवीय तथा पशुपंक्षीहरुलाइ सुरक्षीत राख्न विषेश सावधानी अपनाउने ।
लेखक
दिपेन्द्र श्रीवास्तव, बढैयाताल गाँउपालिकामा कृषि अधिकृत रुपमा कार्यरत छन ।