१९ माघ २०८०, शुक्रबार

ताजा खबर

भारत कानपुरका गुन्डा विकास दुबेले यसरी मारे ८ प्रहरी

   २३ असार २०७७, मंगलवार ०६:०१ प्रकाशित

भारतकाे कानपुरमा पर्ने बिकरु गाउँ त्यस्तो ठाउँ हो, जुन विकास दुबे र उनको परिवारको गढ मानिन्छ।

१२ फिट अग्लो पर्खालवाला घरमा बस्ने विकास दुबेविरुद्ध कम्तीमा ६० वटा मुद्दा प्रहरीमा परेको छ। तर हालैका दिनमा राहुल तिवारी नाम गरेका व्यक्तिले उनीविरुद्ध ३०७ वटा मुद्दा दर्ता गराएपछि प्रहरीले उनलाई पक्राउ गर्ने निर्णय गर्‍याे। 

दुर्भाग्य,  उनलाई पक्राउ गर्ने प्रयास गर्दा एक वृत्त अधिकृतसहित ८ प्रहरी मारिन पुगे। केही प्रहरी घाइते भएका छन्।

घटनास्थल पुगेका पत्रकार प्रवीण मोहताले बीबीसी हिन्दीलाई त्यहाँको वस्तुस्थितबारे बताएका छन्।

उनी भन्छन्, ‘यो घटना हिजो (बिहीबार) रातिको हो। बिल्हौर वृत्तका डीएसपी देवेन्द्र मिश्र- चौबेपुर, बिठुर र बिल्हौर तीन प्रहरी चौकीका जनशक्ति लिएर बिकरु गाउँ गएका थिए। उनको साथमा धेरै प्रहरी बल थियो।’

प्रहरीका धेरैवटा गाडी बिस्तारै-बिस्तारै बिकरु गाउँतर्फ बढ्दै थिए।

विकास दुबेकाे राजनीतिक पहुँचकाे प्रमाण-

dube1

गाउँको बीचमा रहेको विकास दुबेको घरको छतबाट वरपर पूरै क्षेत्र देख्न सकिन्छ। यो घर रणनीतिक ढंगले यति राम्रो अवस्थामा छ कि टाढैबाट प्रहरीको गाडी आएको देख्न सकिन्छ र भाग्ने वा लड्ने रणनीति बनाउन सकिन्छ।

यस्तो अवस्थामा जब प्रहरी विकासको घरतर्फ अगाडि बढ्दै थिए, तब उसको सेतो रङले पोतिएको घरदेखि सय मिटर पर पहेंलो रङको जेसीबी देखियो।

पत्रकार मोहता भन्छन्, ‘जेसीबीका कारण प्रहरीको बाटो पूरै अवरुद्ध भयो। जसले गर्दा प्रहरी बीचमै रोकिए।’

घटनास्थल पुगेका अर्का पत्रकार अंकित शुक्लका अनुसार उनले जे देखे, त्यो मुटु काम्ने खालको थियो। उनी भन्छन्, ‘यो त्यस्तो घटना थिएन कि प्रहरी अचानक पुगेका कारण अपराधीले जवाफी कारबाही गर्नुपरेकाे हाे, यो त निकै सोचविचार गरेर बनाइएको रणनीति थियो।’

मोहता भन्छन्, ‘पहिला कसले गोली चलायो, त्यो कसैलाई थाहा छैन, तर जब गोली चल्न सुरु भयो तब दुवैतर्फ अन्धाधुन्ध फायरिङ सुरु भयो।’

‘विकासको साथमा सधैं आधा दर्जन सुटर रहन्छन्, जसले घरको छतबाट प्रहरीमाथि गोली बर्साइरहेका थिए। यस्तोमा जुन प्रहरी जेसीबीे मुनिबाट छिरेर विकासको घरतर्फ बढे, ऊ फर्केन। उसको घरको गेटमा माथिबाट गोली र ढुंगा बर्सिरहेको थियो। यस्तोमा प्रहरी आसपासका घर छेउ तथा शौचालयको आड लिने कोसिस गरिरहेका थिए।’

‘दुई दर्जनभन्दा बढी प्रहरी थिए, जसमध्ये धेरैजसो घाइते थिए। यीमध्ये केही ज्यान जोगाउन खेततर्फ भागे। यसपछि दुबेको साथमा रहेका सुटर घरबाट बाहिर निस्किए र आसपासका घरमा लुकेर बसेका प्रहरीलाई पनि निकालेर मारिदिए।’

दुबेकाे राजनीतिक संलग्नता यो पोस्टरले पनि पुष्टि गर्छ-

dube2

पत्रकार अंकितका अनुसार प्रहरीले ज्यान जोगाउने कुनै उपाय पाएनन्। उनी अगाडि भन्छन्, ‘गएराति अपराधीले घेरेर प्रहरीको हत्या गरे। वृत्त अधिकृतलाई पनि मारे, जुन घटना शब्दमा बयान गर्न सक्दिनँ।’

आधा दर्जन प्रहरीलाई मारेर आफूलाई बचाउन सफल विकास दुबे जब घरबाट भागे, तब उनको घरबाहिर रगतै रगत थियो।

पत्रकार प्रवीण भन्छन्, ‘प्रहरीलाई मारिसकेपछि दुबे मोटरसाइकलमा चढेर फरार भए। यसपछि प्रहरीले दुई जनालाई इन्काउटर पनि गरेको छ।’

बिहान सबेरै घटनास्थल पुगेका पत्रकार अंकित शुक्लका अनुसार विकास दुबेको घरछेउदेखि सडकसम्म रगतको खोलो बगेको थियो। भन्छन्, ‘एक बाथरुमबाट चार प्रहरीको शव निकालिएको थियो, उनीहरुकाे शरीमा गोलीले छेडेका प्वाल त कति थिए कति!’

यो घटनापछि प्रहरीमा आक्रोश बढेको छ भने विकास दुबेको गाउँमा आतंक फैलिएकाे छ। यी कुरा, सबैभन्दा पहिले घटनास्थल पुगेका उल्लिखित दुई पत्रकारले बताएका हुन्। घटनाका विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी भने आइसकेको छैन। आएपछि अवश्य समावेश गरिनेछ। नेपाल खबरबाट

70 Views
%d bloggers like this: