२१ माघ २०८०, आईतवार

ताजा खबर

धुम्रपानका कारण बर्षेनी २७ हजार भन्दा बढीको मृत्यु

   ११ चैत्र २०७८, शुक्रबार १७:१५ प्रकाशित

बर्दिया, सूर्तीजन्य पदार्थ तथा धुम्रपान सेवनका कारण वर्षमा २७ हजार भन्दा बढी जनशक्तिको मृत्यु हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

जिल्लाको गुलरियामा नेपाल पत्रकार महासँघ बर्दियाको अध्यक्ष यादव आचार्यको सभाध्यक्षतामा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धि पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा.भक्त बहादुर केसीले सो तथ्यांक प्रस्तुत गर्नु भएको हो ।

उहाँले कार्यक्रममा सुर्तीजन्य पदार्थ नियन्त्रणमा पत्रकार तथा मिडियाको भूमिका, कार्यक्रमको उद्देश्यहरु, सुर्तीजन्य पदार्थ प्रयोगको कारण सृजित अवस्था, स्वास्थ्यमा पर्ने असरहरु र वातावरणमा पर्ने असरहरु लगायतका विषयमा जानकारी गराउँदै सुर्तीजन्य पदार्थ सेवनका कारण नेपालमा एक वर्षको अवधिमा करिब २७ हजार १ सय ३७ जना र विश्वमा एक वर्षमा करिब ८० लाख मानिसहरुको मृत्यु हुने जसमा करिब १२ लाख मानिसले आफुले धुम्रपान सेवन नगरेपनि अरुले गरेको धुम्रपानको धुवाँको असरले मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक गर्नुभयो ।

धुम्रपानमा ७ हजार भन्दा बढी रसायन भएको ती रसायनहरु मध्ये कम्तीमा २ सय ५० वटा रसायन हानीकारक पुष्टि भएको र ती मध्ये कम्तीमा ६९ वटा रसायनले क्यान्सर निम्त्याउँने भएका कारण सूर्तीजन्य पदार्थ सेवन नियन्त्रण तथा नियमनका लागि नेपालमा सुर्तीजन्य पदार्थको उत्पादनका बट्टामा ९० प्रतिशत चेतवानी मूलक सन्देश हुनुपर्ने, सरकारी कार्यालय, शिक्षण संस्था, पुस्तकालाय, विमान स्थल, बायुसेवा तथा सार्वजनिक सवारीका साधन, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धा आश्रम, अनाथालय लगायतका सार्वजनिक स्थलहरुमा धुम्रपान निषेध गरिएको र विभिन्न किसिमका कानुनी व्यवस्थाहरु समेत रहेको डा.केसीले बताउनु भयो ।

कार्यक्रममा उहाँले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि गुलरिया नगरपालिकाले दश बुदे प्रतिबद्धता जनाएको बताउनु भयो ।

गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा सहित जनप्रतिनिधिले हस्ताक्षर गरेको प्रतिबद्धता पत्रमा सरोकारवाला तथा साझेदार निकायसंग समन्वय गरी सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न अभियान संचालन गर्ने, आजदेखि सुर्तीजन्य पदार्थ यस नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले सेवन गर्न छोड्छौ, पालिकाको सबै सार्वजनिक संस्थाहरुमा सुर्तीजन्य पदार्थ निषेध गर्ने, इजाजत पत्र लिएका व्यवसायीले मात्र बिक्री गर्न पाउने, सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न अध्ययन र अनुसन्धान गर्ने, प्रयोग कर्तालाई सुर्तीजन्य पदार्थको लत छुटाउन राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा संचार केन्द्रको समन्वयमा स्वास्थ्यकर्मीलाई तालिम दिने व्यवस्था गर्ने, जनसमुदाय तथा सरोकारवालासंग सुर्तीजन्य पदार्थ नियमनका लागि व्यापक छलफल गर्ने, सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न रणनीति तयार गर्ने, सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न निरन्तर अनुगमन तथा सुपरभिजन गर्ने र सुर्तीजन्य पदार्थ रहित पालिका घोषणा गर्ने उल्लेख गरिएको छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन अभियानमा संचार माध्यमको महत्वपुर्ण भुमिका रहेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा संचार केन्द्रका निर्देशक सुनिलराज शर्माले बताउनु भयो । ‘आम नागरिकलाई सुर्तीजन्य पदार्थको सेवनले के–कस्तो हानी पु¥याउछ कतिपयलाई थाहा हुदैन’ निर्देशक शर्माले भने,‘संचार माध्यमबाट सुर्तीजन्य पदार्थको असरहरु हेरेर, पढेर, सुनेर आम नागरिकले थाहा पाउँन सक्छन् ।’ त्यसैले सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानीको बारेमा संचार माध्यमबाट सचेतना गराउन आग्रह समेत निर्देशक शर्माले गर्नु भएको थियो ।

134 Views
%d bloggers like this: