६ माघ २०८०, शनिबार

ताजा खबर

बबई बहुमुखि क्याम्पसमा सामान खरिदमा व्यापक अनियमितता

   ८ असार २०८०, शुक्रबार ०८:३३ प्रकाशित

बर्दियाको सदरमुकाम गुलरियामा रहेको बबई बहुमुखी क्याम्पसमा सामान खरिद गर्दा व्यापक भष्ट्राचार गरेको खुलासा भएको छ । क्याम्पसले अडिटोरियम हलको लागि सजावटको सामाग्री तथा प्रोजेक्टर र साउण्ड सिस्टमहरू खरिद गर्दा मिलोमतोमा कोटेशन मिलाएर बजार मूल्य भन्दा बढि मूल्यमा सामान खरीद गरेको पाइएको हो ।
क्याम्पसमा हलका लागि आवश्यक सामाग्री शोफासेट, स्पिकर, प्रोजेक्टर, कारपेट, कुर्सी, टि–टेबल, पर्दा सेट, रोष्टम लगायत सामान खरीद गर्दा अनियमितता भएको स्रोतले जनाएको छ । हल व्यवस्थापनका लागि ११ लाख ८३ हजार ४६ रुपैयाँ बराबरको सामाग्री खरिद गरिएको क्याम्पस स्रोतले जनाएको छ ।
सार्वजनिक खरिद ऐनमा १० लाख भन्दा माथिको सामाग्री खरिद गर्दा बोलपत्र आव्हान गर्नुपर्ने व्यवस्था छ । बजेट शिर्षक एउटै भए पनि त अनियमितता गर्ने उद्देश्यले शिर्षक टुक्र्याएर अलग अलग कोटेशन मिलाएर सामाग्री खरिद गरिएको छ
क्याम्पसबाट प्राप्त बिल भर्पाईका अनुसार गत जेष्ठ ३० गते श्रीया इन्टेरियर इण्डष्ट्री प्रालि नेपालगञ्जबाट ७ लाख ५७ हजार चार सय ६१ रुपैयाँको कुर्सी र टि–टेवल खरिद गरिएको छ । भने जेष्ठ ३२ गते अम्बे फर्निसिङ्ग गार्डेन नेपालगञ्जबाट तिन लाख २६ हजार एक सय १२ रुपैयाँ बराबरको फर्निचर र हल व्यवस्थापनका सामाग्रीहरू खरिद गरिएको छ । सो सामान एउटै प्रकृतिको भएपनि बोलपत्र आव्हान नगरी कोटेशन मिलाएर खरिद गरिएको छ ।
समान खरिदका बिलहरुः

 

 

क्याम्पसमा खरिद गरीएका हल व्यवस्थापनका सामाग्रीहरूको बजार मूल्य बुझ्दा क्याम्पसले खरिद गरेको मूल्य भन्दा भन्दा न्यून रहेको पाइएको छ । प्रतिपिस दुई हजार तिन सय पर्ने पार्टी प्यालेस कुर्सी दुई हजार छ सय २० रुपैयाँमा खरिद गरिएको छ । दुई सय ४९ पिस कुर्सी खरिद गर्दा भ्याटबाहेकको रकम छ लाख ५२ हजार तिन सय रुपैयाँ खर्च भएको छ ।

त्यसैगरी हलको लागि आवश्यक प्रोजेक्टर र स्पिकर समेत कोटेशन मिलाएर बजार मुल्य भन्दा बढि मूल्यमा खरिद गरेको पाइएको छ । एसर कम्पनीको ह्ज्ञद्दद्दघज्ए मोडलको प्रोजेक्टर भ्याट बाहेक ५७ हजार पाँच सय रुपैयाँमा खरिद गरिएको छ तर बजारमा सो प्रोजेक्टरको मूल्य ४४ हजार रुपैँया मात्र रहेको कम्प्युटर एसोसियसन बर्दियाका संस्थापक अध्यक्ष प्रशान्त टण्डनले बताउनु भयो । सबै भन्दा अनियमिता त साउण्ड सिस्टम खरिदमा भएको छ । ‘बर्दियामा कम मूल्यमा उपलब्ध हुने भएपनि कमिसनको चक्करमा नेपालगञ्जबाट कोटेशन मगाएर सामाग्री खरिद गरिएको छ ।’ उहाँले भन्नु भयो –‘बोलपत्र हुनपर्ने भएपनि बोलपत्र नगरी, कोटेशन आव्हानको सूचना समेत प्रकाशन नगरी नेपालगञ्जका व्यापारी सँग मिलेर सामान खरिद गरिएको छ ।’
प्रोजेक्टर र साउण्ड सिस्टमको फोटो बिल सहित:

चलानी किताब केरमेट

खरिद प्रक्रियामा त्रुटि भएपछि रातारात चलानी किताबमा केरमेट गरी मिलाइएको फेला परेको छ । स्रोतले पटक पटक केरमेट गरी सच्याइएको चलानी किताबको तस्वीर लिएपछि सो घटनाको खुलासा भएको हो । स्रोतले लिएको पहिलो तस्बिरमा गत बैशाख १५ मा मध्यपश्चिमाञ्चल विश्व विद्यालयलाई स्विकृतीको लागि पठाएको पत्रको चलानी नम्बर ३१७ मा ‘क’, ‘ख’ थपेर ‘कोटेशन पेश गर्ने सम्बन्धमा’ भन्ने विषयमा पत्र पठाइएको छ । तर कसलाई पठाइएको हो भन्ने खुलेको छैन । अर्को तस्बिरमा चलानी नम्बर ३१७ मै श्रीया इन्टेरियर इण्डष्ट्रीलाई पत्र पठाइएको उल्लेख गरिएको छ । जुन पहिलो तस्बिरमा पाइएको थिएन । सोही तस्वीरमा बैशाख २४ गतेको मितिको चलानी नम्बर ३१८ को सुरेन्द्र जंग राना क्षेत्रीको रमाना पत्रको चलानीलाई काटेर अम्बे फर्निसिङ्ग गार्डेनलाई कोटेशन पेश गर्ने पत्र पठाइएको छ । त्यसैगरी त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा जेष्ठ दुई गते पठाएको सिफारिस सम्बन्धमा भन्ने पत्रको चलानी नम्बर ३२७ मा थप गरी अघिल्लो मिति जेष्ठ १ गते राखेर बर्मा कन्ट्रक्सन गुलरिया बर्दियालाइ कोटेशन सम्बन्धमा भन्ने शिर्षकमा पत्र पठाइएको पाईएको छ ।

(हेर्नुहोस् चलानी किताबको तस्बिर)

चलानी किताब हेर्दा क्याम्पस प्रशासनले सामान खरिदको आपसी सहमति भइसकेपछि चलानी किताब मिलाएको प्रष्ट देखिन्छ । क्याम्पस प्रमुखको ठाडो निर्देशनमा दर्ता र चलानी किताब सच्याइ खरिद प्रकृया मिलाएको मिलाएको नाम नखुलाउने शर्तमा क्याम्पस स्रोतले बताएको छ ।

बबई बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष लक्ष्मण भण्डारीले मिलोमतोमा सामाग्री खरिद गर्न लागि क्याम्पस प्रशासनले दर्ता चलानी किताब केरमेट जस्तो गलत कार्य गरेको बताउनु भयो । उहाँले सामान खरिद प्रक्रियाको बारेमा बुझ्न खोज्दा विभिन्न बाहाना गरी समयमा विवरण उपलब्ध नगराएको बताउँदै सामान खरिदमा भ्रष्टाचार भएको बताउनु भयो । उहाँले गलत कार्य गर्ने जो कोहीलाई पनि कारवाही हुनपर्ने माग गर्नु भएको छ ।

बबई बहुमुखी क्याम्पस प्रमुख विरेन्द्रराज लम्सालले क्याम्पसमा खरिद भएको सामानमा एक पैसा तल माथि नभएको दाबी गर्नु भएको छ । उहाँले स्ववियुका नेताहरू बिल लगायत कागजात माग्न आएपछि दिएको बताउनु भयो । उहाँले हतार हतारमा धेरै मात्रामा सामान खरिद गर्नुपर्ने भएकोले पनि नेपालगञ्जबाट सामान ल्याएको बताउनु भयो । उहाँले खरिद समिति र लेखा कसैले पनि भ्रष्टाचार नगरेको बताउनु भयो ।

269 Views
%d bloggers like this: