बर्दियान्यूज ।
सरकारले सामुदायिक बन उपभोक्ताहरु माथी जर्वजस्ती कर थोपरेको भन्दै स्थानिय सामुदायिक बन उपभोक्ता समुहका उपभोक्ताहरु आन्दोलित भएका छन् । समुदाय लगायत अन्तर सरकारी निकाय विच समन्वय नगरी सरकारले जर्वजस्ती तेहोरो कर थोपरेको भन्दै मंगलवार उनीहरु सडकमा उत्रिएका हुन् ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ बर्दियाको अगुवाईमा सदरमुकाम गुलरिया स्थित बसपार्क नजिक आँप बगैचामा ठूलो संख्यामा जमा भएका उपभोक्ताहरुले कर खारेजीको माग गर्दै बजार परिक्रमा गरे । प्राकृतिक न्यायको सिद्धान्त विपरित संघ, प्रदेश र स्थानियतहमा प्रस्ताव गरिएको कर प्रति गम्भीर आपत्ती जनाउँदै उपभोक्ताहरुले विशाल बिरोध सभा गरेका हुन् ।
देशलाई मरुभुमिकरण हुनबाट रोक्ने बन उपभोक्ता समुह उपर जर्वजस्ती तेहोरो कर लादेर सरकारले गल्ती गरेको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य मोहम्मद कर खाँनले बताए । उनले भने सरोकारवाला कसैसँग सहकार्य र समन्वय नै नगरी एकलौटी रुपमा समुह माथी कर थोपर्ने कामको हामी घोर विरोध गर्दछौ ।
सामुदायिक वन उपभोक्ता समूह माथि संघ र प्रदेश सरकारले वन तथा अर्थ सम्बन्धी विभिन्न नयाँ कानूनहरु तर्जुमा गर्ने क्रममा कर तथा गैह्रकर राजस्व लिनेगरी नेपाल सरकारले गरेको नयाँ व्यवस्थाको प्रस्ताव गरेर सामुदायिक वन समुहको योगदानको अबमूल्यन गरेको उनको आरोप छ ।
सामुदायिक बनमा हालसम्म लगाईदै आएको वन पैदावार शुल्क र नयाँ प्रस्ताव गरिएका सबै तहका बनपैदावार शुल्क हटाउँदै समुहले ब्यापारिक प्रयोजनका लागि समुह बाहिर विक्री गरेको काठ र दाउराबाट प्राप्त गरेको रकमको १५ प्रतिशत रकम वन पैदावार शुल्को रुपमा संघीय विभाज्य कोषमा जम्मा हुने ब्यवस्था गर्नुपर्ने समुहहरुको माग रहेको उनले वताए ।