७ माघ २०८०, आईतवार

ताजा खबर

विपिनले सम्झिए तिस बर्ष अघिको देउसी

   ११ कार्तिक २०७६, सोमबार १४:४४ प्रकाशित

 

बर्दियान्यूज । बर्दिया सदरमुकाम गुलरिया नगरपालिका वार्ड नम्वर ६ निवासी विपिन पोखरेल जिल्लामै राम्रा अडिटर हुन् । उनले आफ्नो युवाकालमा परम्परागत रुपमा खेलेको देउसी सम्झिए । आज देउसी खेल्ने दिन । मन एकाएक तीस बर्ष पहिलेको यात्रामा कुद्न लाग्यो । देउसी खेल्ने दिन, सन्ध्याको करीब पाँच बजेबाट हामी जुट्न शुरु हुन्थ्यौ । पेट्रोम्याक्स, मोमबत्ती, पटाकाहरु, क्यासेट प्लयेर आदिको जिम्मा ककस्ले लिने भनेर पहिले नै तय भैसकेको हुन्थ्यो । सामान र साथीहरु जुट्दा करीब छ बजिसकेको हुन्थ्यो । हाम्रो देउसी कार्यक्रम गुलरियामा त्यस समयमा रहेको डिस्टिलरीबाट शुरु हुन्थ्यो । त्यस बखत गुलरियामा रहेको उद्ध्योगको नाममा त्यही डिस्टीलरी थियो । सबैभन्दा बढी पैसा पनि त्यहिबाट पाइन्थ्यो । मन लाग्नेहरुले अलीअली सोमरस पनि पिउन पाउने । देउसी भट्याउन सिपालु हाम्रा परम मित्र थिए शम्भु ठकुरी, मलाई सम्झना भए सम्म प्राय उनैले भट्याएको याद छ । उपी दाजु पनि भट्याउन साथ दिनुहुन्थ्यो । मित्र शम्भु मान्छे पनि अलि बलियो उनले भट्याउने क्रममा कसैले सानो स्वरमा “देउसी रे“ भन्यो भने झण्डै कुटुला जस्तो गर्ने । सबैलाई लाइनमा देखिने गरि थर्काएर उभ्याउने । हाम्रा अर्का परम मित्र केशव थापा त्यतीबेलाका ब्रेकडान्सका सिपालु डान्सर । हरेक घरमा उनले मात्रै डान्स गर्नुपर्ने । आफुले मात्रै डान्स गर्नु परेर होला, अत्यन्तै सज्जन भएर पनि कुनै कुनै बेला त दिक्दार हुदै सबैसँग रिसाए जस्तो गर्दथे । देउसीमा कुन घरले कति दियो त्यो थाहा पाउने कौतहलताको सीमा नै हुदैनथ्यो । अरु त अरु आफ्नो घरबाट अली बढी पाए हुन्थ्यो भनी आश हुन्थ्यो । देउसी खेलेको पैसाले हरेक बर्ष पिकनिक मनाउने सहमती हुन्थ्यो । एउटा घोडाले तान्ने सानो बग्गी जसलाई स्थानिय भाषामा टाङगा भनिन्छ, त्यस्मै हामी अलि नजिकको पिकनिक स्पोट सानोश्री नजिक बबई नदीको किनारमा गइ रमाइलो गरिन्थ्यो । पछी पछी कर्णालीको तिर चिसापानी हाम्रो पिकनिक स्पोट बन्यो । टेन्ट लगेर बासनै बस्ने गरि । एकपटक कर्णालीमा पौडी खेलेर बालुवामा आफु आराम गर्दैगर्दा पारी पट्टी गोही आराम गरिरहेको सम्झिदा अहिले पनि शरीरमा काडा उम्रीन्छ । साथिभाईहरु जो जहाँ भएपनी हरेक तिहारमा यसरीनै रमाईलो गरिन्थ्यो । सबैको अत्यन्तै पृय, सह्र्दयी, मेरो जिगरी दोस्त सुधीर अल्पायुमै परमात्मामा बिलिन भएपछी यो शृङ्खला तोडियो। साथीहरु सबैमा ह्याप्पी देउसी ।
बीपीएन पोखरेलको फेसवुकबाट …

141 Views
%d bloggers like this: