बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउनको पहिलो साता बागमती प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।
विश्वासको मत दिने प्रयोजनका लागि सोमबार नै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएको छ। यसअघि सत्ता साझेदार दलसँग सोमबार यहाँ भएको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले आगामी साउन ६ गते विश्वासको मत लिने निर्णयमा पुगेका थिए।
विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री, मन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट सोमबार प्रदेश सभा सचिवालयमा पत्र प्राप्त भएको बागमती प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए। उनका अनुसार साउन ६ गते आइतबार दिउँसो १ बजे विश्वासको मत लिने प्रयोजनका लागि समय व्यवस्थापन गरिदिन मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको छ।
सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बागमती प्रदेश संसदीय दलले असार २४ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्तासँगै मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका हुन्। एमालेका पाँच जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका थिए।
१३ वटा मन्त्रालय रहेको बागमती प्रदेश सरकारमा हाल नेकपा (माओवादी केन्द्र) का मुख्यमन्त्रीसहित चार मन्त्री, नेकपा (एकीकृत समाजवादी) का तीन र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री रहेका छन्। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रका संसदीय दलका नेता जम्कट्टेललाई नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीको मात्र साथ रहेको छ। सरकारमा रहेका दलहरू माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको सात र हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य छन्। प्रदेश सभाबाट गत चैतमा मुख्यमन्त्रीले ५६ जना प्रदेश सभा सदस्यको समर्थन प्राप्त गरेका थिए।