काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु गरेको छ ।
सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान सुरु गरिएको हो । अभियानको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले शुभारम्भ गरेका हुन् । कार्यक्रमा बोल्दै गृहन्त्री लामिछानेले नेपालको सार्वजनिक यातायातलाई थप भरपर्दो र दुर्घटनारहित बनाउन विशेष अपरेशन सञ्चालन गर्ने घोषणा गरेका छन् ।
गृहमन्त्री लामिछोले दुर्घटना न्यूनीकरणका लागि जरोमा जानुपर्ने भन्दै त्यो जरो भनेको लाइसेन्स दिने प्रक्रिया भएको बताए । उनले रोड परीक्षण नगरी लाइसेन्स दिनै नहुनेमा जोड दिए । ट्राफिक नियम पालनामा लापरवाही भइरहेको सन्दर्भ जोड्दै उहाँले अब प्रहरीको बोली नरम र कारबाही कडा हुनुपर्ने जोड दिए ।
गृहमन्त्री लामिछानेले आवश्यक संशोधन गर्नुपर्ने नीति, नियम र ऐन संशोधन गरेरै भए पनि सार्वजनिक यातायातको रुट तथा सहज सडक यात्राको सुधारमा मन्त्रालय लागिरहेको बताए । लामिछानेले ट्राफिक नियम उल्लङ्घन गर्नेविरुद्ध जानकारी दिनेलाई समेत पुरस्कार दिनेगरी काम गर्ने तयारीमा मन्त्रालय लागेको जानकारी दिए । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले ट्राफिक सचेतना कार्यक्रमले सबैलाई जिम्मेवार बनाउने हुनाले यो अभियान प्रभावकारी हुने बताइन् । उनले ट्राफिक प्रहरीको व्यवहार सुधारमा जोड दिइन् ।
सडक सुरक्षाका जानकार भगवती सेढाईँले सहीरूपमा समुदायमा सचेतना बढाउँदा २० प्रतिशत दुर्घटना न्यूनीकरण हुने बताइन् ।