राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को मत परिणामले पार्टीको कमी–कमजोरीहरुलाई इंगित गरेको बताएको छ।
रास्वपाले मंगलबार विज्ञप्ती जारी गर्दै आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा समिक्षा गर्ने बताएको छ। निर्वाचन परिणामले पार्टीको कयौं कमीकमजोरी रहेको इंगित गरेको भन्दै सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले पार्टीलाई सचेत गराएको विज्ञप्तीमा उल्लेख छ।
‘पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्नेछौं। निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन् कमीकमजोरी रहेको इंगित गरेको छ। सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ। हामीलाई दिनुभएको मतका लागि सम्पूर्ण इलाम क्षेत्र नम्बर २ का मतदाताहरूप्रति कृतज्ञता र आभार प्रकट गर्दछौं। नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं,’ विज्ञप्तिमा भनिएकाे छ।
इलाम–२ को उपनिर्वाचनमा नेकपा (एमाले) का सुहाङ नेम्वाङ निर्वाचित भएका छन्। उनले २७ हजार ७७२ मत ल्याएर निर्वाचित भए। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत ल्याए। तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत ल्याएका छन्।
चौथो स्थानमा रहेका रास्वपा उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत ल्याएका छन्।