काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साह ब्राजिल प्रस्थान गरेका छन्।
मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन मेयर बालेन ब्राजिल प्रस्थान गरेका हुन्। असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ-पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन सोमबार उनी ब्राजिल प्रस्थान गरेका हुन्। बालेन असार ८ गते स्वदेश फर्कने कार्यक्रम छ। बालेनका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन्।
बालेन मेट्रोपोलिस निर्देशक बोर्डका सदस्य हुन्। मेट्रोपोलिस विश्वका ठूला महानगरहरूबीच विश्वव्यापी सहयोग, संवाद, ज्ञान र समाधान आदानप्रदान गर्ने अन्तर्राष्ट्रिय संस्था हो। बोर्डमा सहरी आवास र भवनहरूको विषयमा छलफल हुने बताइएको छ। सहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर निर्देशक बोर्डले निष्कर्ष निकाल्नेछ। बैठकमा मेयर साहले सम्बोधन गर्नेछन्।
कार्यक्रमअन्तर्गत ‘मेयरल राउन्ड टेबल’ शीर्षकमा बुधबार हुने आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति बहस’ मा साहले प्यानलिस्टका रूपमा धारणा प्रस्तुत गर्नेछन्।