लघुवित्त पीडित र अर्थ मन्त्रालय बीच सिंहदरबारमा वार्ता सुरु भएको छ । आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिलाई बुधबार अर्थ मन्त्रालयले वार्तामा बोलाएको थियो । सोही अनुसार अहिले वार्ता सुरु भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा मन्त्रालयले लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि सिंहदरबारस्थित मन्त्रालयमा बोलाएको हो ।
मन्त्रालयद्वारा सह–सहसचिव एवम् वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वमा गठित समितिले पीडितका प्रतिनिधिलाई वार्तामा बोलाएको हो । मन्त्री पुनले समितिलाई संघर्ष समितिसँग वार्ता गरी उनीहरुका माग सम्बोधन गर्ने उपायसहित प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् । मन्त्रालयले यसअघि नै समस्याको टुंगो नलाग्दासम्म लघुवित्तका ऋणिलाई घरघरमा गएर गैरकानुनी रुपमा बलजफ्ती नगर्न लघुवित्त सञ्चालकलाई निर्देशन दिएको थियो ।