सप्तकोशी नदीमा पानीको बहाब बढेपछि ५६ वटै ढोका खोलिएको छ।
ब्यारेज भएको स्थानमा आइतबार बिहान ३ लाख ७५ हजार ३ सय क्युसेक पानी बग्न थालेपछि सबै ढोका खोलिएको हो।
सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढेपछि सबै ढोका खोलिएको हो।
नदीमा पानीको बहाब बढेसँगै उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ। नदीमा पानीको बहाब १ लाख ७५ हजार क्युसेकभन्दा बढी भए खतराको संकेत गरिन्छ। सन् १९६८ मा नदीमा हालसम्मकै उच्च ७ लाख ८८ हजार २ सय क्युसेक पानी बहेको थियो।
पछिल्लो समय नदीको माथिल्लो भागमा बालुवा थुप्रिएका कारण पानीको बहाब कम भएको अवस्थामा पनि जोखिम भने बढी हुने गरेको छ।
सन् १९८८ मा ५ लाख २३ हजार ७७१ क्युसेक पानी बहेको रेकर्ड गरिएको छ। ब्यारेज बनाउँदा ८ लाख क्युसेक सम्म पानीको बहाब धान्न सक्ने गरी निर्माण गरिएको बताइएको थियो। २०६३ भदौ २ गते १ लाख ६८ हजार क्युसेक पानी पुग्दा नै पूर्वी तट भत्किएर ७ हजार ५३६ परिवार विस्थापित भएका थिए।
५० वर्षभन्दा पुरानो कोशी ब्यारेजमा पानीको बहाब बढेसँगै नेपाल र भारत विहारका नागरिकलाई जोखिम बढ्ने गरेको छ। ब्यारेज सन् १९६४ देखि पूर्ण रुपमा प्रयोगमा आएको थियो । एक दशक लगाएर सन् १९६२ मा निर्माण भएको कोशी ब्यारेज भारतको कोलकतास्थित जोसेफ एण्ड कम्पनी लिमिटेडले निर्माण गरेको हो।
कोशी ब्यारेजमा सुनसरीतर्फ २८ र सप्तरी तर्फ २८ गरी कुल ५६ वटा ढोका रहेका छन्। ब्यारेजको लम्बाई एक हजार १ सय ४९ मिटर रहेको छ।