९ माघ २०८०, मंगलवार

ताजा खबर

चिनियाँ नाकाप्रति विश्वास टुट्दो छ

   २४ आश्विन २०७८, आईतवार ०८:३७ प्रकाशित

चीनबाट ल्याइएका सामान समयभित्रै नेपाली बजारमा ल्याउन नसक्दा उत्तरी सीमा नाकाप्रतिको ‘विश्वास नै उठ्न थालेको’ व्यवसायीहरूले बताएका छन्।

ल्हासास्थित महावाणिज्यदूतको कार्यालयले खासा र केरुङ नाकामा गरेर झन्डै दुई सय सामान भरिएका कन्टेनर नेपाल आउने पालो पर्खिरहेको बीबीसी न्यूज नेपालीलाई बताएको छ।

तर अझै धेरै सामान चीनतर्फ गोदाममै रहेकाले त्यस्ता अड्किएको सामान थप कयौँ दर्जन कन्टेनरसरह हुने नेपाली व्यापारीहरूले बताएका छन्।

दशैँ लक्षित सामानहरू समयमै ल्याउनका लागि पहल गरिए पनि दैनिक एक दर्जन हाराहारीमा मात्र दुवै जसो नाकाबाट कन्टेनरहरू छुटेकाले धेरै सामानले अब दशैँ बजार भेट्न नपाउने बताइएको छ।

चिनियाँ नाकाबाट के आउँछ ?

तातोपानी र रसुवागढी हुँदै नेपाल आउने सामानहरू फलफूल, लत्ताकपडा, औषधिका कच्चा पदार्थ र इलेक्ट्रोनिक्स सामानहरू रहने बताइन्छ।

“फलफूलमा तिब्बतमै फल्ने स्याउ र नास्पातीको हिस्सा धेरै हुन्छ। ओखर समेत आउँछ,” हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठ भन्छन्।

“कुहिने सम्भावना भएकाले फलफूल छाड्न प्राथमिकता दिइने भए पनि कन्टेनरका दैनिक सीमित कोटा मात्र छाडिँदा त्यसमा पनि असर परेको छ।”

त्यसबाहेक तिब्बती सहरहरूदेखि ग्वान्जाउसम्मबाट रोल कपडा, तयारी कपडा र विद्युतीय सामानहरू चिनियाँ नाकाबाट नेपाल आउने गरेका छन्।

त्यसबाहेक सरकारले खुला बोलपत्र आह्वान गरेर किनेको हजारौँ मेट्रिक टन रासायनिक मल समेत ती नाका हुँदै नेपाल आउने गरेका छन्।

तातोपानी

अहिले अड्किएको के हो?

कोभिड महामारी सुरु भएयता नेपाली ट्रक एवं व्यापारीहरू चीनतर्फ जान नपाएकाले उनीहरू पूर्णतः एकलौटी चिनियाँ कार्यशैलीमा भर पर्न बाध्य भएको बताइन्छ।

तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतम भन्छन्, “हामीले पनि व्यापारीहरूले सामान रोकियो भनेपछि मात्र थाहा पाउने हो। हामीलाई आफै गएर हेर्ने अनुमति छैन र चिनियाँ पक्षसँग पनि हाम्रो सम्बन्ध स्थापित छैन।”

“फलफूल र म्याद सकिने सामानहरू भएको खण्डमा हामीले शनिवार समेत गरेर आएकै दिन छाड्ने गरेका छौँ।”

मल बोकेका कन्टेनरहरू सिगात्सेबाट हिँडेको खबर आफूहरूलाई भए पनि त्यो अब नेपाल प्रवेश नगर्दासम्म थप थाहा नहुने गौतम बताउँछन्।

दश हजार मेट्रिक टन रासायनिक मल नेपालका लागि किनिएका भए पनि अहिले १,५०० मेट्रिक टन नेपाल जाने तयारी अवस्थामा रहेको ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकाल बताउँछन्।

तातोपानी

उनी भन्छन्, “तत्काल जानुपर्ने ती ३०-३५ ट्रक मल सोमवारबाट नेपाल प्रवेश गर्ने गरी अनुरोध गरिएको छ जसलाई चीनले सकारात्मक रूपमा लिएको छ।”

तातोपानीबाट दैनिक १०० सम्म कन्टेनर छाड्न सकिने नेपाली पक्षको क्षमता भए पनि चीनले कोभिडलाई कारण देखाएर दैनिक औसत एक दर्जन कन्टेनरहरू मात्र छाड्ने गरेको छ।

रसुवागढीबाट औसत दैनिक १० ट्रक हाराहारीमा मात्र सामान नेपाल प्रवेश भइरहेको बताइन्छ।

‘सामान्य हुन धेरै समय लाग्छ’

२०७२ सालको भूकम्पपछि केही तङ्ग्रन खोजे तापनि कोभिड महामारी सुरु भएका कारण उत्तरी नाकाहरू सहज रूपमा काम गर्न सकेका छैनन्।

हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले भूकम्पअघिको अवस्थामा जान नसकिए अब ती नाकाबाट सामान झिकाउनुको अर्थ नहुने बताउँछन्।

उनी भन्छन्, “समयमा सामान नआउने भएपछि व्यापारीहरूले किन ती नाकाबाट सामान झिकाउने? पोहोर र अहिले जेजस्तो भयो, त्यसले हाम्रो विश्वास टुटेको छ।”

नेपाल चीन

तस्बिर स्रोत,RSS

तस्बिरको क्याप्शन,मर्मतपछिको मितेरी पुल

नेपालबाट उत्तरी सीमा भएर हुने निर्यात भने अहिले पूरै ठप्प छ।

समुद्री मार्गबाट भारत हुँदै समेत चिनियाँ सामान नेपाल आउने गरेकोमा अहिले त्यसतर्फ समेत कन्टेनरहरूले पालो कुर्नुपर्ने अवस्था रहेको बताइन्छ।

सङ्घका अध्यक्ष श्रेष्ठ थप्छन्, “भारतको बाटो समय पनि धेरै लाग्ने, ढुवानी खर्च पनि महँगो पर्ने गर्छ। चीनतर्फका यी उत्तरी नाकाहरू हाम्रा लागि लाइफलाइन सरह नै भए पनि ती त्यसरी प्रयोग हुन सकेनन्।”

ल्हासास्थित नेपाली महावाणिज्यदूतले तिब्बतका हकमा उच्च भूभागमा कोभिड फैलिए नियन्त्रण गर्न निकै कठिन हुने भन्दै तिब्बत सरकारले त्यहाँ कडा नियम लागु गरेकाले यस्तो अवस्था सिर्जना भएको बताउँछन्।

महावाणिज्यदूत ढकाल भन्छन्, “कोभिडभन्दा अघिको अवस्थामा जान धेरै नै समय कुर्नुपर्ने अवस्था छ।”

साभारः बिबिसी नेपाल

168 Views
%d bloggers like this: