७ माघ २०८०, आईतवार

ताजा खबर

गरीमा धानको विउमा ठगिए किसान

   १० कार्तिक २०७६, आईतवार ११:४५ प्रकाशित

 

यादव आचार्य
बर्दिया । सरकारले बर्षे र हिउँदे गरी बारैमहिना धान खेती गर्ने लक्ष्य सहित राजापुरलाई धान सुपरजोन क्षेत्रको रुपमा घोषणा गरेको छ । गरीमा धान छिटो पाक्ने तथा लगत्तै चैते धान लगायत अन्य खेती गर्न सहज हुने भएकाले पनि कृषक हरुको रोजाईमा गरीमा धान परेको हो ।
बर्दियाको राजापुर क्षेत्र धान उत्पादनको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । राजापुर क्षेत्रमा विशेष गरी मकवानपुर जातको धान खेती गर्ने गरिन्छ । मकवानपुर धान चिउरा तथा भुजा बनाउने प्रयोजनमा अधिक माग रहेकाले पनि राजापुर क्षेत्रमा मकवानपुर धानको खेती प्रति आर्कषण थियो । गरीमा धानको चामल मसिनो हुने र खानको लागि समेत राम्रो हुने भएकाले पछिल्लो समय किसानहरुले खानको लागि गरीमा धान रोप्न थालेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वय ईकाइ धान सुपरजोन राजापुरका बरिष्ठ अधिकृत तपेन्द्र बहादुर शाह बताउँछन् ।
उनले भने मकवानपुर धान मोटो हुने अनि ढिलो पाक्ने भएकाले किसानहरु पछिल्लो समय गरीमा धान प्रति आर्कषित हुन थालेका हुन् । गरीमा धान १ सय २० दिनमा तयार हुन्छ । उनले भने धान काटेपछि तोरी, चैतेधान, आलु लगायतका बाली लगाउन पाईने भएकाले पनि किसानहरु छोटो समयमा तयार हुने गरीमा धान प्रति आर्कषित भएका हुन् ।
मकवानपुर धानको लागि विउ बढी लाग्छ । तर गरीमा धान प्रति हेक्टर १० किलोग्राम भए पुग्छ । जसले गर्दा पनि किसानको रोजाईमा गरीमा परेको हो । आर्थिक हिसावले बढी लागत लागेपनि गरीमा धानको उत्पादन पनि बढी छ । उनले थपे किसानहरुले खान तथा दोहोरो खेतीका लागि गरीमा धान रोजेको उनको भनाई छ । ब्यापारीले गरीमा जातको धानको विउमा अन्य विउ हालेर बेचेपछि किसानहरु ठगिएको बताए । जसका कारण राजापुरमा लगाईका गरीमा जातका धान काट्ने बेलामा पनि नपसाएपछि किसानहरु चिन्तित छन् ।
गरीमाको डीएनए परिक्षण
देशकै अन्नभण्डारका रुपमा मानिने बर्दियाको राजापुर क्षेत्रमा रोपिएका गरीमा जातको धान नफलेपछि त्यसको डीएनए परिक्षण शुरु भएको छ । धान सुपरजोन क्षेत्र राजापुरका किसानहरुले रोपेका गरीमा जातको धानको विउ फरक परेको आशंकामा अनुसन्धान गर्न डीएनए परिक्षण शुरु गरिएको हो ।
किसानहरुले रोपेको गरीमा जातको धान पाक्ने बेलामा पनि नपसाएको धान सुपरजोन राजापुरका वरिष्ठ कृषि अधिकृत तपेन्द्र बहादुर शाहले बताए । उनले भने नेपालमा राष्ट्रिय सूचिकृत गरीमा जात गतबर्ष राजापुर क्षेत्रका किसानहरुले लगाउँदा उत्पादन राम्रो भएकाले यस बर्ष पनि सोही जातको धान लगाएका हुन् । गरीमा लेखिएको वीउको प्याकिङ्गमा अन्य कुनै जातको धानको वीउ राखी विक्री वितरण गर्नेले बदमासी गरेको हुन सक्ने अनुमान शाहले प्रष्ट्याए ।
उनले थपे करिव १ सय देखि १ सय ५० हेक्टर क्षेत्रफलमा लगाईएको धान पसाएको छैन । नपसाएको धानको बोट हेर्दा अन्य जातको जस्तो देखिन्छ । धानको डीएनए परिक्षण गर्न काठमांडौ पठाईएकाले रिपोर्ट आएपछि वास्तविकता बाहिरिने उनको भनाई छ । किसानहरुले आफ्नै लगानीमा विभिन्न एग्रोभेटबाट धानको विउ खरिद गरेकोले बदमासी गर्नेले किसानहरुलाई क्षतीपूर्ति भर्नुपर्ने र त्यस्ता विउ वितरकलाई कारवाही गर्नुपर्ने उनले भने ।
देशकै धान सुपरजोन क्षेत्र राजापुरमा १६ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ । जसमा बर्षेनी ६३ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ । यसबर्ष धान नफलेपछि २ दशमलव ०३ प्रतिशत उत्पादकत्व घट्ने अनुमान जोन कार्यालयको छ । शाहले थपे भित्र्याउने बेलामा धान नपसाएपछि किसानहरुसँगै सुपरजोन क्षेत्रमा चुनौती थपिएको छ । बर्दियामा मात्र होईन देशका अन्य क्षेत्रहरुमा पनि गरीमा भनिएका जातका धानको अवस्ता उस्तै छ ।
जसका कारण यसबर्ष बर्दियामा धान उत्पादन घट्ने निश्चित छ । प्राकृतिक रुपमा गवारो किराको प्रकोप झेलीरहेका किसानहरु ब्यापारीबाट ठगिएपछि दोहोरो पिडामा छन् । धान काट्ने बेला सम्म पनि नफलेपछि किसानलाई धेरै समस्या भएको राजापुरका सहायक बडघर दिपक चौधरीले बताए । उनले भने राजापुर धान घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही र पिडितलाई क्षतीपूर्तिको ब्यवस्था गर्नुपर्छ ।
राजापुरमा लगाईएको धानमा समस्या देखिएपछि प्रदेश नम्वर ५ का कृषि मन्त्री आरती पौडेल, जिल्लाका प्रदेश सांसदहरु, कृषि बैज्ञानिक लगायत सरोकारवालाहरुको टोलीले धान लगाईएको क्षेत्रमा अवलोकन तथा अनुगमन गरेको सहभागी जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकिय अधिकृत अर्जुन सुवेदीले वताए । उनले भने गरीमा जातको धान नपसाएको पाईयो । प्रदेश सरकारबाट क्षतीपूर्ति दिलाउने प्रतिबद्धता मन्त्रीबाट भएको छ । सुवेदीले थपे किसानहरुले वीउ विक्री वितरण गर्ने कम्पनीलाई कारवाहीको माग गरेका छन्

78 Views
%d bloggers like this: