बर्दियान्यूज । प्रहरीले श्रीमाने हत्याको आरोपमा मृतकको श्रीमतीलाई पक्राउ गरेको छ । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्वर ६ निवासी ५० बर्षिया दिलमाया दरैलाई पक्राउ गरेको हो ।
आफ्नै श्रीमान ५२ बर्षिय समला दरैलाई कर्तब्य गरी मारी भागी फरार भएको टेलिफोन मार्फत प्रहरीलाई सूचना प्राप्त भएको आधारमा श्रीमतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले वताए ।
कार्तिक ७ गते वेलुकी श्रीमान श्रीमती विच झगडा भएको खुल्न आएको छ । भोलिपल्ट घरमा कोही पनि नदेखिएको शनिवार ढोका खोली हेर्दा दरै मृत अवस्थामा रहेको पाईयो । घटना स्थलमा मुङ्ग्रो भेटिएको छ । वास्तोलाले भने महिलाले दिएको वयान अनुसार श्रीमान अत्याधिक मदिरा पिउने वानी भएका कारण मुङ्ग्रोले हिर्काएको बताएकी छिन् ।
घटना स्थलमा प्राप्त भएका प्रमाणहरु परिक्षणका लागि पठाईएको छ । श्रीमती दरैलाई बाँके जिल्ला खजुरा गाउँपालिका वार्ड नम्वर ७ स्थित गुनाना भन्ने स्थानमा प्रहरीले फेला पारेको उनले जानकारी दिए । प्रहरीको हिरासतमा राखीएकी उनलाई कर्तब्य ज्यान शिर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान भैरहेको एसपी वास्तोलाले वताएका छन् ।