१७ माघ २०८०, बुधबार

ताजा खबर

बर्दियाकाे खातामा नेपालकै पहिलो ‘ओभरहेड ब्रिज’

   २७ असार २०७७, शनिबार १३:३४ प्रकाशित

बर्दियाको खाता ‘करिडोर’ संरक्षण क्षेत्रमा पर्ने हुलाकी सडक खण्डमा वन्यजन्तुको सहज आवागमनका लागि ओभरहेड ब्रिज बन्ने भएको छ । हुलाकी राजमार्गमा वन्यजन्तुको आवागमनका लागि ‘ओभरहेड ब्रिज’ बन्न लागेको यो नेपालको पहिलो योजना हो ।

प्रदेश नम्बर ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालय बर्दियाको आर्थिक सहयोगमा ‘एनिमल क्रसिङ ओभरहेड ब्रिज’ योजनाको डिपिआर तयार भइसकेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

गौमुखि इन्जिनियरिङ्ग सर्भिस प्रालि ललितपुरले ‘ओभरहेड ब्रिज’ को डिपिआर तयार गरेको हो । खाता जैविक मार्ग खाता संरक्षण क्षेत्रमा पहिलो चरणमा बन्ने ‘ओभरहेड ब्रिज’ ४५ मिटर चौडाइ हुने योजनामा उल्लेख छ । ‘ओभरहेड ब्रिज’ निर्माणका लागि करिव ९ करोड रुपैयाँ लागत लाग्ने बताइएको छ । योजनाको वातावरण प्रभाव मूल्याङ्कन भए लगत्तै आर्थिक वर्ष २०७७÷०७८ देखि निर्माण कार्य सुरु हुने डिभिजन वन कार्यालयका प्रमुख महेन्द्रराज वाग्लले बताए । वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि प्रदेश नम्बर ५ को यो एकदमै नविनतम योजना रहेको बताइएको छ । खाता संरक्षण क्षेत्र मधुवन नगरपालिकामा पर्दछ । हुलाकी सडकको झण्डै २ किलोमिटर क्षेत्र खाता करिडोरमा पर्छ । जसमध्ये करिव साढे ५ सय मिटर सडक क्षेत्रमा वन्यजन्तुको आवतजावत बढी हुने गर्छ । वन्यजन्तुको आवागमन बढी हुने क्षेत्रमा ओभरहेड ब्रिज बन्ने भएको हो । खाता करिडोर क्षेत्र वन्यजन्तुका लागि निकै महत्वपूर्ण मानिन्छ ।

खाता करिडोरले बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनियाघाट वन्यजन्तु संरक्षण क्षेत्रलाई जोडने गर्छ । खाता करिडोर भएर हात्ती, गैँडा, बाघ लगाएतका संरक्षित वन्यजन्तुहरु नियमित रुपमा नेपाल–भारत आवतजावत गर्ने गर्छन् । वन्यजन्तुको आवागमनलाई मध्यनजर गरि खाता करिडोर क्षेत्रमा वन्यजन्तुका लागि ओभरहेड ब्रिज बन्न लागेको डिभिजन वन कार्यालयले जनाएको छ ।

खाता करिडोर क्षेत्र संरक्षणका दृष्टिकोणले दक्षिण एशियाकै निकै महत्वपूर्ण जैविक मार्ग मानिन्छ । खाता जैविक मार्गको महत्व र संरक्षणलाई ध्यानमा राखेर नेपाल सरकारले सन् २०१२ मा यो क्षेत्रसँग जोडिएका वन क्षेत्रलाई खाता संरक्षित वन घोाषण गरेको छ । नेपालमा वन्यजन्तु ओहोरदोहरका लागि अन्डरपास ब्रिज निमार्ण भएका छन् । तर खाता करिडोर क्षेत्रमा बन्न लागेको यो ओभरहेड ब्रिज नेपालकै पहिलो प्रयास भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लले बताए ।

वन्यजन्तुलाई पुलको अनुभव नहुने गरि यसको संरचना तयार पारिने बताइएको छ । पुलको माथि रुख,विरुवा तथा झाडीहरु रोपिने छ । जसले गर्दा वन्यजन्तुले जंगलमै हिडेको महसुस गर्ने छन् । करिडोर क्षेत्रमा ओभरहेड ब्रिज बनेपछि बन्यजन्तुहरु निर्वाध रुपमा एक वनवाट अर्को वनमा आतजावत गर्न सक्ने छन् । भने सडक दुर्घटनाबाट वन्यजन्तुको मृत्यु हुने क्रम न्यूनिकरण हुनुका साथै मानव–वन्यजन्तु द्वन्द्वसमेत कम हुने संरक्षणकर्मीहरु बताउँछन् । वन्यजन्तु ओहरदोहर गर्ने खाता करिडोरमा वन्यजन्तुमैत्री संरचना निर्माण गर्न संरक्षणकर्मीहरुले विगतदेखि नै माग गर्दै आएका थिए । वन्यजन्तु ओहोरदोहोर गर्ने मुख्य मार्ग खाता जैविक मार्ग क्षेत्रमा वन्यजन्तुमैत्रि सडक बनाउनका लागि वहुसरोकारका सवालमा सहजिकरण गर्दै आइरहेको संवाद समुह बर्दियाले सरोकारवाला पक्षहरुसँग विभिन्न समयमा संवाद अन्तरक्रिया गर्दै आइरहेको थियो । संवाद समुहले सरोकारवाला पक्षहरुसंग राखेको सामुहिक अन्र्तक्रियात्मक कार्यक्रममा खाता जैविक मार्ग क्षेत्रमा वन्यजन्तुमैत्री अण्डरपास वा ओभरपास निर्माण गर्नुपर्ने माग अनुसार निर्णय गरि सम्बन्धित कार्यालयमा पठाएको संवाद समुह बर्दियाका सदस्य अर्जुन सुबेदीले बताए ।

तयार पारिएको ओभरहेड ब्रिज डिपिआर नमुना स्क्याच सहित मधुवन नगरपालिकाका नगरप्रमुख गणेश बहादुर क्षेत्री सहितका जनप्रतिनिधी, संरक्षणकर्मी, संवाद समुह बदिया, संचारकर्मीहरुका बीच प्रस्तुत गरिएको थियो । सहभागीहरुले पहिलो प्राथमिकतामा स्काई ओभर ब्रिजको माग गरेका थिए भने विकल्पमा ओभरहेड ब्रिज बनाएपनि ९० मिटरको बनाउन माग गरेका छन् । डिभिजन वन कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्ज, तराई भुपरिधि कार्यक्रम, डब्लु डब्लु एफ नेपाल, संवाद समुह बर्दिया लगायतले वन्यजन्तुमैत्री संरचनाका लागि प्रयास थालेका थिए । छिमेकि मुलुक भारतमा समेत नरहेको यो ओभरहेड ब्रिज निर्माण कार्य सम्पन्न भएपछि सामुदायिक वनले पर्यटकहरुका लागि नजिकै भ्यु टावर बनाएमा पर्यटकिय केन्द्र बन्ने पनि जनाइएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कर्तर्निया वन्यजन्तु आरक्षका वन्यजन्तु ओहोरदोहोर गर्ने मुख्य मार्ग खाता जैविक मार्ग क्षेत्रमा पर्ने राजापुर–गुलरिया हुलाकी सडकखण्ड अन्र्तगत कोठियाघाट पुल नजिक खाता क्षेत्रमा वन्यजन्तुमैत्री सडक बनाउनु पर्ने संरक्षणकर्मीहरुले माग गर्दै आएका थिए । यसअघि जैविक मार्ग संरक्षणका सवाल र दिगो समाधानका उपाय सम्बन्धमा सरोकारवालाहरु बिच बर्दियाको ठाकुरद्धारामा भएको अन्र्तक्रियामा सडक दुर्घटनामा परी मानव वन्यजन्तु मारिने र वन्यजन्तु ओहोरदोहोर गर्न समस्या हुने भन्दै वन्यजन्तुमैत्री सडक निर्माण गर्न प्रदेश नम्बर ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि लिला गिरी सहितको टोली समक्ष संरक्षणकर्मीहरुले माग गरेका थिए । दुई वर्ष अघि जिल्लामा भएको जैविक मार्ग संरक्षणका सवाल र दिगो समाधानका उपाय सम्वन्धी अन्तरक्रियामा प्रदेश नं ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले खाता करिडोर क्षेत्रमा ओभरहेड ब्रिज बनाउने प्रतिवद्धता जनाएका थिए ।

54 Views
%d bloggers like this: